अफ्रिकामा शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप लगाउन अनुमति


धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ ।

चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ । लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्षेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ । आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो ।

परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ । ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो ।

यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ । यसले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्छ ।

पहिलो तीन मात्रा एक–एक महिनाको फरकमा पाँच, छ र सात महिनाका शिशुलाई दिइन्छ भने अन्तिम बुस्टर मात्रा १८ महिना आसपासमा आवश्यक पर्नेछ । यसको व्यापक वितरणका लागि आर्थिक सहायताको पाटो भने अझै अस्पष्ट छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ’एउटा ऐतिहासिक क्षण’ बताए ।

अहिलेसम्म मलेरिया गराउने परजीवीलाई मार्ने विषादीहरू र त्यसबाट बच्ने झुलजस्ता उपाय मात्र यस रोगबाट बच्न प्रयोग भइरहेका थिए । तर अफ्रिकामा यसको त्रास उच्च छ जहाँ सन् २०१९ मा मात्र यसबाट २ लाख ६० हजार बालबालिकाले ज्यान गुमाएका थिए।