ताइवानको आकाशमा चिनियाँ लडाकु जहाजको लर्को


आफ्नो हवाई सुरक्षा क्षेत्रभित्र चिनियाँ लडाकु विमानले अनधिकृत प्रवेश गरेपछि ताइवानले बेइजिङलाई गैर जिम्मेवार र उक्साहटपूर्ण कारबाही रोक्न आह्वान गरेको छ ।

सोमबार लगातार चौथो दिन चिनियाँ जहाजहरूले ताइवानको आकाशमा प्रवेश गरेका थिए । कुल १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेका थिए । कतिपय विश्लेषकहरू भन्छन् ती उडान उक्त टापु देशको राष्ट्रिय दिवस अगाडि ताइवानी राष्ट्रपतिलाई चेतावनी स्वरूप गरिएका हुन सक्छन् ।

ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर प्रजातान्त्रिक प्रणाली अपनाएको ताइवानले चाहिँ आफूलाई सार्वभौम राष्ट्र ठान्छ ।

गएको एक वर्षदेखि ताइवानले चिनियाँ हवाई सेनाले टापु नजिकै उडान गरिरहेको बताइरहेको छ । ताइवानी सरकारले उपलब्ध गराएको नक्सा अनुसार पछिल्लो चिनियाँ मिसनअन्तर्गत ३४ वटा जे सिक्सटिन लडाकु जहाज तथा १२ परमाणु क्षमतायुक्त एच सिक्स बमवर्षक जहाज ताइवानी नियन्त्रणमा रहेको प्रातास टापुहरूमाथि उडाइएका थिए ।

सोमबार अबेर थप चारवटा चिनियाँ लडाकु जहाज देखापरेका थिए । एकैदिन कुल ५६ जहाज देखा परे । ताइवानको चिनियाँ नीति निर्माणसम्बन्धी एक मुख्य निकाय मेनल्यान्ड अफेअर्स काउन्सिलले बेइजिङमाथि ताइवानी जल क्षेत्रमा कायम शान्ति र स्थिरताको यथास्थितिलाई गम्भीर हानि पुर्याएको आरोप लगाएको छ।