जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई


जापानका प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताएका छन् ।

साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिएका छन् ।

उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताएका छन् । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाएका छन् ।

उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थालेका छन् । उनले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

त्यस क्रममा उनले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरेका छन् । उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका हुन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गरेका हुन् ।