सेप्टेम्बर महिनाको अन्त्यसम्ममा प्रत्येक देशको १० प्रतिशत जनसङ्ख्यालाई पूर्ण रूपमा कोभिड खोप लगाइसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले निर्धारण गरेको लक्ष्य पूरा गर्न ५० भन्दा बढी देश विफल भएका छन् ।
तीमध्ये अधिकांश देश अफ्रिकामा छन् जहाँ पूर्ण मात्रा खोप लगाएका मानिसहरूको कुल जनसङ्ख्या अहिले ४.४ प्रतिशत छ । वेलायतमा करिब ६६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने युरोपेली सङ्घमा ६२ प्रतिशत र अमेरिकामा ५५ प्रतिशतले खोप लगाएका छन् ।
अधिकांश त्यस्ता देश कम आय भएका मुलुकहरू हुन् जसले खोप भित्र्याउन सङ्घर्ष गरिरहेका छन् र कमजोर स्वास्थ्य पूर्वाधारसँग जुझिरहेका छन् । कतिपय देशहरू द्वन्द्व वा आन्दोलनबाट गुज्रिरहेका छन् जसमा यमन, सिरिया, इराक, अफगानिस्तान र म्यानमार पर्छ ।
प्राकृतिक विपद्को असर भोगेको हेइटी जस्ता देशमा पनि खोप अभियान अघि बढाउन अप्ठेरो भइरहेको छ । तर ताइवान जस्तो धनी देशमा पनि पूर्ण मात्रा खोप लगाउनेको जनसङ्ख्या १० प्रतिशतभन्दा अलिकति कम छ ।
खोप आपूर्तिमा भएको विलम्ब र अन्य कारणले त्यहाँको खोप कार्यक्रम प्रभावित भएको हो केही महिना अघिसम्म संसारकै सबैभन्दा कम कोरोनाभाइरस सङ्क्रमण देखिएको मुलुक भियतनाममा पनि खोप लगाउनेको सङ्ख्या १० प्रतिशतभन्दा कम छ । अफ्रिकामा ५४ वटा देशमध्ये १५ वटा देशले मात्र १० प्रतिशतको लक्ष्य भेट्टाएका छन् ।
उक्त महादेशका आधा देशहरूले आफ्नो जनसङ्ख्याको दुई प्रतिशतभन्दा कमलाई खोप लगाएका छन्। इजिप्टले आफ्नो जनसङ्ख्याको करिब ५ प्रतिशतलाई पूर्ण मात्रा खोप दिएको छ भने इथियोपिया र नाइजेरिया दुवैले ३ प्रतिशतभन्दा कमलाई पूर्ण मात्रा लगाएका छन् । अफ्रिकाका बुरुन्डी र एरिट्रियाले अझै खोप अभियान थाल्न सकेका छैनन् ।
डब्ल्युएचओकी अफ्रिका क्षेत्रीय निर्देशक मात्सदिसो मोएटीले खोपको लक्ष्य पुरा गर्ने अधिकांश देशमा उच्च–मध्यम वा उच्च आय भएका देश भएको बताइन् । आफ्नो खोप अभियान थाल्न अफ्रिकी देशहरू द्विपक्षीय सम्झौता, अनुदान र कोभ्याक्स अभियानको खोप साझेदारी कार्यक्रममा निर्भर देखिएका थिए ।
यसै वर्षको सुरुमा कोभ्याक्स मार्फत खोप प्राप्त गर्न विभिन्न देशहरूले सङ्घर्ष गरिरहेका थिए तर जुलाई र अगस्ट महिनामा अवस्थामा केही सुधार भयो । धनी देशहरूले कोभ्याक्समार्फत सहयोग गर्ने वा सिँधै अफ्रिकी देशहरूलाई खोप उपलब्ध गराउने प्रतिबद्धता गएको जुनमा वेलायतमा भएको धनी राष्ट्रहरूको समूह जी सेभेन देशका शीर्ष नेताहरूको बैठकमा गरेका थिए । यसै महिना संयुक्त राष्ट्र सङ्घको महासभामा थप प्रतिबद्धताहरू जनाइएका थिए ।
अमेरिकाले आफूले पहिल्यै प्रतिबद्धता जनाएको भन्दा अलग्गै थप ५० करोड मात्रा फाइजरको खोप उपलब्ध गराउने बताएको थियो । जीसेभेन र ईयूले प्रतिबद्धता जनाएको खोपको आपूर्तिबारे हालै गरिएको एउटा अध्ययनले वाचा गरिएको मध्ये १५ प्रतिशतभन्दा कम खोप ती देशहरूलाई उपलब्ध गराइएको देखाएको थियो ।
डब्ल्यूएचओले यसअघि उक्त महादेशमा कम्तीमा १० प्रतिशत जनसङ्ख्यालाई सेप्टेम्बर महिनाभित्र खोप दिनका लागि २७ करोड मात्रा खोप आवश्यक पर्ने बताएको थियो ।
तर अघिल्लो महिनाको अन्त्यसम्म आवश्यकताको करिब २५ प्रतिशत मात्र खोप कम आपूर्ति भएको थियो । डब्ल्यूएचओले सन् २०२१ को अन्त्यसम्म विश्वको ४० प्रतिशत जनसङ्ख्यालाई खोप दिइसक्ने लक्ष्य लिएको छ । तर कोभ्याक्सले त्यो बेलासम्म अफ्रिकालाई ६२ करोड खोप दिने लक्ष्य राखेकोमा त्यसलाई घटाएर ४७ करोड बनाएको छ।

प्रतिक्रिया