१२७ वर्षीय अफ्रिकी नागरिकको निधन


एरिट्रियामा एक व्यक्तिको १२७ वर्षको उमेरमा निधन भएको छ । परिवारले नाताबे तिन्सीउको नाममा सबैभन्दा धेरै वर्ष जीवित व्यक्तिको विश्व कीर्तिमान लेखिने अपेक्षा गरेको छ ।

उनका नाति जेरे नाताबेले बीबीसीलाई उनी यति लामो समय बाँच्नुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन् । नाताबेको तीन सय जनसङ्ख्या रहेको गाउँ अजिफामा मृत्यु भएको परिवारले जनाएको छ ।

उनका नातिका अनुसार चर्चले राखेको जन्म दर्ता सहितको तथ्याङ्कमा उनी सन् १८९४ मा जन्मिएका र सोही वर्ष चर्चमा उनका लागि कार्यक्रम आयोजना गरिएको देखाउँछ। यस हिसाबले उनी मृत्यु हुँदा १२७ वर्षका थिए ।

तर उनको परिवारका अनुसार उनी सन् १८८४ मा जन्मिएका थिए तर उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो । सो गाउँमा सात वर्ष पादरी रहेका फादर मेन्टेले चर्चका कागजातमा उनी सन् १८९४ मा जन्मिएको देखिने पुष्टि गरेका छन् । उनले आफ्नो उपस्थितिमा सन् २०१४ मा गाउँलेहरूले उनको १२०औँ जन्मदिन मनाएको बताए ।

नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई जानकारी गराइसकेको बताएका छन् । अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेका व्यक्ति मानिँदै आएको छ ।

नाताबेले सन् १९३४ मा विवाह गरेका थिए र उनकी पत्नीको सन् २०१९ मा ९९ वर्षमा मृत्यु भएको थियो । उनी पेसाले पशुपालक रहेका थिए र आफ्नो जीवनकालमा पाँच पुस्ता हुर्केको देख्न पाए।