अख्तियारविरुद्ध जसपाका कार्यकर्ताद्वारा प्रदेश दुईमा मसाल जुलुस प्रदर्शन


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टीले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस निकालेको छ ।

जसपाका कार्यकर्ताले जनकपुर लगायतका प्रदेश दुईका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले अख्तियारविरुद्व नाराबाजी गरेका थिए । अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो ।

विरोधका कार्यक्रम अन्तर्गत आइतबार जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने जसपाले जनाएको छ । प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।