काठमाडौँ । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरेको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।
बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।
साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई ’एसुरेन्स ल्यान्डिङ’ भएको बुद्ध एयरले जनाएको छ ।
टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया