एमाले नेताहरु सर्वदलीय बैठकमा अनुपस्थित


काठमाडौँ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बसिरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बहिष्कार गरेको छ । एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तिको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।