स्वस्थ प्रतिस्पर्धामार्फत वडा अधिवेशनमा सहभागी हुन देउवाको अनुरोध


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् । पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा शुक्रबार शुभकामना दिँदै सभापति देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउने बताएका हुन् ।

देउवाले जनताको विश्वास जितेर अघि बढ्ने प्रण गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्, ‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ,’ म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो भन्दै देउवाले लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत वडा अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘बलियो कांग्रेस, समृद्ध देश भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’ आफूले सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको देउवाले बताएका छन् ।