साझा पार्टी फुटको संघारमाः समानान्तर गतिविधि नगर्न रवीन्द्र मिश्र पक्षद्वारा पाण्डे पक्षलाई चेतावनी


काठमाडौं । विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षको केन्द्रीय समिति बैठकले पार्टी संयोजक मिलन पाण्डे पक्षलाई पार्टी हित विपरीतका गतिविधि नगर्न चेतावनी दिएको छ ।

बिहीबार अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई समानान्तर गतिविधि नगर्न चेतावनी दिएको हो । बैठकले पार्टी हित विपरितको गतिविधि जारी राखे कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

बैठकमा विवेकशील साझाका १३० मध्ये १०३ जना सदस्य सहभागी भएको बताइएको छ । बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ ।