काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबल, चिन्तनशील र लोकतन्त्रका प्रति निष्ठावान व्यक्तिलाई नेतृत्वमा पुर्याउन अपील गरेका छन् ।
बिहीबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी पौडेलले सबल नेतृत्वको पार्टीलाई आवश्यकता रहेको बताएका हुन् । उनले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई विर्सेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपील गरेका छन् ।
उनले भनेका छन्,‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु ।’
उनले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ देखि वडा अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया