अफगानिस्तानमा रहेका नेपालीको उद्दारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीको उद्दारका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले हालको सर्वाधिक महत्त्वपूर्ण विषय त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्दार रहेको बताएका हुन् । उनले त्यसमा आफ्नो पार्टीको सहयोग रहने बताएका छन् ।

उनले भनेका छन्, ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस आपातकालीन अवस्थामा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु ।’