काबुलमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह, उद्दार संयोजन समिति गठन


काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्नका लागि एक समिति गठन गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम गर्ने उनले बताए ।

अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौैडेलले बताए । नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले जानकारी दिए । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको उनले बताए ।

मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सुचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक÷एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चान गर्ने पनि सचिव पौड्यालले बताए ।