बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।
बैठकमा सत्ता पक्षका सांसद भने उपस्थित छैनन् । बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए ।
मुख्यमन्त्री पोखरेलले केहीबेरअघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो । मुख्यमन्त्रीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रदेशसभा केहीबेरका लागि स्थगित गरिएको छ ।
प्रदेश प्रमुखले पहिल्यै नै मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका लागि समय र मिति नै तोकेर विशेष अधिवेशन डाकेकाले नियमित प्रक्रियाका रुपमा निरन्तरता दिइएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।
सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।

प्रतिक्रिया