लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयद्वारा राजीनामा


बुटवल । लुम्बिनी प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले राजीनामा पत्रका उल्लेख गरेका छन् ।

उनी पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए। गत वैशाख ६ गते ​जसपाबाट मन्त्री बनेका पाण्डेलगायत सरकारमा सहभागी जनता समाजवादीका विजय यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो।

त्यसका विरुद्ध तीनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । पार्टीले कारबाही गरेपछि प्रदेससभा सचिवालयले सांसद पदबाट मुक्त गरिसकेको छ।

यसैबीच, मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।