सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ : माधव नेपाल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफूहरुको इच्छा र चाहना रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको भन्दै त्यसका लागि वार्ता भइरहेको बताएका हुन् ।

एमाले नेता रघुजी पन्तका अनुसार वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।

सम्बोधनका क्रममा नेता नेपालले भने, ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन । म एकताकै पक्षमा छु । तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

सम्बोधनका क्रममा नेता नेपालले सबै नागरिकलाई  छिटो खोप लगाउने व्यवस्था गर्न, बाढी पहिरो पीडितको गाँसबासको व्यवस्था र मृतकको परिवारलाई क्षतिपूर्ति तथा दार्चुला घटनाबारे यथार्थ छानबिन गरी दोषीलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेपाल पक्षका कार्यदलका संयोजक डा. भीम रावलले दश बुँदे सहमतिकाबारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । रावलले सदस्यता नविकरण गर्ने लगायत काम स्थगित गर्न महासचिव ईश्वर पोखरेललाई जानकारी गराएको बताए छन् ।

बिहीबारको बैठकमा एक दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी अध्यक्ष केपी ओलीसँग लत्रिएर जान नहुने सुझाव दिएका थिए । नेता पन्तका अनुसार बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्नेछ ।