देउवाले लिए प्रधानमन्त्रीको शपथ, चार सदस्यीय मन्त्रिपरिषद गठन


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।