संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौंः वामदेव गौतम


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था आवश्यक रहेको बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बीचको विभेद अन्त्यका लागि पनि त्यसलाई संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘गतवर्ष मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिनँ। त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो। मैले उठ्दिनँ भनें । आफूले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको विभेद अन्त्य गर्न राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुहोस् भने । तर त्यतिबेला मेरो धेरै मानमर्दन पनि भयो।’

यदि राष्ट्रिय सभाको यो हलले आफ्नो प्रस्ताव मन्जुर गर्छ भने यसलाई पास गर्नुपर्ने गौतमले बताए । त्यसैगरी उपाध्यक्ष गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताए । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि आफूले कसैलाई साथ नदिएको बताए ।

उनले भने, ‘एमाले पुनःस्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौतमले भने, ‘धेरै मनिसहरुले बामदेव केपीतिर गयो भने । यो सभामार्फत म जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने बताएका छन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए । नेता गौतमले आफ्नो पार्टीभित्रको विवादलाई ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरे । ‘ठूलो घरको ठूलै चहलपहल । राम्रो भए पनि राम्रो नराम्रो भए पनि । ठूलो पार्टी भएको नाताले कहिले नेकपा एमाले, कहिले नेकपा, अहिले नेकपा एमाले भएर प्रकट भएका छौं’ उनले भने ।