हामी छलफलको अन्तिम विन्दुमा छौंः भीम रावल


काठमाडौं । नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र आइतबार सहमतिको घोषणा हुने बताएको छ । शनिबार बसेको कार्यदल बैठकले सहमतिलाई अन्तिम अवस्थामा ल्याएको र आइतबार सुखद समाचार सुन्न पाउने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।

उनले भने, ‘लगभग सहमतिको अन्तिम निष्कर्षमा आएका छौं । आमकार्यकर्ता र जनतामा सन्देश दिने अवस्थामा आएका छौं । विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्छौं । सुखद समाचार भोलि सुन्न पाउनुहुने छ ।’

त्यस्तै कार्यदलका अर्का सदस्य डा. भीम रावलले पनि विभिन्न विषयबस्तुमा छलफल गरेको र छलफल अन्तिम अन्तिम विन्दुमा पुगेको जानकारी दिए । उनले भने, ‘विभिन्न विषयबस्तुमा छलफल गरेको र छलफलको अन्तिम अन्तिम विन्दुमा छौं । सम्भवतः त्यो छलफललाई हामी छिट्टै नै पूरा गरेर निष्कर्षमा पुर्याउछौं ।’

यसअघि शुक्रबारको कार्यदलको बैठकपछि नेताहरुले शनिबार सहमतिको खाका सार्वजनिक गर्ने बताएका थिए । एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदल केही दिनदेखि छलफलमा जुटिरहेको छ ।