एमाले कार्यदलमा भएन सहमति


काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा विषयवस्तुमाथि बुँदागत रुपमा छलफल सुरु भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार भएको बैठकमा विवाद समाधानका लागि बुँदागत रुपमा छलफल भएको हो । पार्टी सचिव गोकर्ण विष्टले मूल विषयमा बुँदागत छलफल सुरु भएको जानकारी दिए । उनले भने,‘व्यवस्थित ढंगले छलफल भयो । टुंगोमा पुग्न भने केही दिन लाग्छ।’

त्यस्तै अर्का नेता रघुजी पन्तले छलफल सकारात्मक भएको बताए । उनले भने, ‘छलफल सकारात्मक छ जारी छ भोलिपनि बस्छ । बुँदागत रुपमा छलफल भयो । आ आफ्ना धारणा राख्ने काम भयो ।’

अघिल्लो महिना अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताम माधवकुमार नेपालबीचको वार्तापछि कार्यदल गठन गर्ने सहमति भएको थियो । तर कार्यदलले विभिन्न चरणमा छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

कार्यदलमा ओली पक्षबाट संयोजक सुवास नेम्वाङ तथा सदस्यहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट संयोजक भीम रावल तथा सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट छन् ।