पार्टीकाबारेमा कानुनअनुसार निर्णय गर्न जसपाका दुवै पक्षद्वारा निर्वाचन आयोगलाई आग्रह


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले आफूहरू मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आयोगमा मंगलबार भएको छलफलमा दुबै पक्षका नेताहरुले आफूहरु मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न आयोगलाई आग्रह गरेका हुन् ।

छलफलपछि बाहिर निस्कने क्रममा नेता अनिल झाले आफूहरू मिलेर जान नसक्ने कुरा आयोगसमक्ष बताएको जानकारी दिएका छन् । उनले आफूहरुले अलग हुने सहमति गरेकाले अब आयोगले निर्णय गर्ने बताए ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए । दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । २०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षले हस्ताक्षर गरेपछि र महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि जसपामा विवाद बढेको हो । दुबै पक्ष नमिल्ने भएपछि अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने छ।