‘सांसदहरुको हस्ताक्षर अर्कै प्रयोजनका लागि भएको महान्यायाधिवक्ताको दाबी मिथ्या’


काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रतिनिधिसभा विघटन विरुद्धको रिट दर्ता गर्दा प्रस्तुत हस्ताक्षर कीर्ते भए मुद्दा चलाउन महान्यायाधिवक्तालाई चुनौती दिएका छन् ।

सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस गर्दै दाहालले हस्ताक्षर र्कीर्ते भएर मुद्दा चलाउन महान्यायाधिवक्तालाई चुनौती दिएका हुन् ।

उनले भने, ‘नाम सच्याउने, टिपेक्स लगाउने र कीर्ते गरेको प्रमाणित भए अनुसन्धान गरेर मुद्दा चलाउनु किन सक्नु भएन?’ दाहालले सांसदहरुको हस्ताक्षर अर्कै प्रयोजनका लागि भएको महान्यायाधिवक्ताले दाबी मिथ्या भएको बताए ।

उनले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताए । दाहालले १४६ जना अदालतमा उपस्थित भएर सनाखत गरेर रिट दायर गरेको र उनीहरुले स्वीकार गरेको कुरा अलग पानमा राखिएको बताए ।

सरकारी पक्षले पाँचजनाको मात्र हस्ताक्षर भएकाले १४६को नभइ पाँच जनाको रिट भएको दाबी र तर्क गलत भएको दाहालको भनाई थियो ।