काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिँदैछ । रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने भएको हो ।
उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ। आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक घण्टा बहस गरेका छन् । अब आज बाँकी समयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन् । जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ ।
एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसियसनका २ र सर्वोच्च बारका २ वरिष्ठ अधिवक्ताले राय राख्नेछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई (माथि तस्बिर) रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो । बहस सकिएपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ । यही असार ९ देखि जारी सुनुवाइमा पक्ष र विपक्ष गरी २९ घण्टा बहस भइसकेको छ ।

प्रतिक्रिया