अब जिल्ला जिल्लामा खोप अभियाननै संचालन गर्छौंः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने बताएका छन् । शनिबार त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरेका हुन् ।

उनले भने,‘सकेसम्म छोटो अवधिमा खोप उपलब्ध गराउने छौं। एक दुई दिनमा भ्यक्सिन आइपुग्छ ।’ खोपका लागि विभिन्न मित्रराष्ट्रसँग कुरा भएको भन्दै विभिन्न जिल्लामा अब खोपको अभियाननै संचालन गर्ने बताए ।

प्रधानमन्त्रीले अब लगातार खोप आउने र खोप पाइएन भन्ने स्थिति नहुने दाबी गरे । उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने स्थितिबाट हामी अगाडि बढनेछौ। बीचमा हामीलाई भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं ।’

उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमशः सबै नागरिकलाई खोप दिने पनि बताए । सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्रीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।