काठमाडौं । नेकपा एमालेका नेता बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राष्ट्रियसभा सदस्य भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका हुन्।
भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको भएको उल्लेख गर्दै सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको बताएका छन् ।
भुसालले पत्रमा लेखेका छन्,‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ । तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु।’
उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोधसमेत गरेका छन् ।
‘मलाई सभाका सबै गतिविविधमा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्नुहुन अनुरोध गर्दछु र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिनुहुन पनि हार्दिक अनुरोध गर्दछु’, भुसालले भनेका छन्, ‘साथै मैले पाउने पारिश्रमिक र अन्य सुविधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिनका निम्ति लेखा शाखालाई निर्देशन गरिदिनुहुन पनि अनुरोध गर्दछु।’
एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले गरेको घोषणालाई महत्वका साथ हेरिएको छ। भुसाल एमालेभित्र वरिष्ठ नेता माधव नेपाल पक्षका महत्वपूर्ण नेता हुन्।

प्रतिक्रिया