देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भयोः कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बेलामा धक्का दिन सके राप्रपाका मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताएका हुन् ।

उनले विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ । यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रुपमा स्थापित हुन्छ। यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनका लागि चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए ।