राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल चाँडै हट्छ : प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दृढता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धान्जली सभालाई चितवनमा मंगलबा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए । “तपाईँहरु सवै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जाँनै दिँइदैन ।” उनको भनाइ थियो, “गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।”

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशील रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने बताए ।

आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गिय हरीप्रसाद पन्डितले कम्यूनिस्ट आन्दोलनलाई ठूलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । पौडेलको ९० वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

सोमबार साँझ चितवन आएका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल वर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरेका थिए । अध्यक्ष आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।