काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् । मंगलबार सामाजिक संजालमार्फत श्रेष्ठले जनता समाजवादी पार्टीका बारेमा आयोगबाट भएको पछिल्लो निर्णयबाट यो स्पष्ट भएको बताएका हुन् ।
उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् । श्रेष्ठले लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोक्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । साथै राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ ।’
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र महन्त ठाकुर पक्षले एक अर्कालाई पार्टीबाट निस्कासित गरी कारबाही गरेका थिए । तर आयोगले दुबै पक्षको निर्णयलाई अमान्य भएको बताएको थियो ।

प्रतिक्रिया