चीनद्वारा अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण


चीनले अफअगानिस्तनलाई कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा खोप हस्तान्तरण गरिएको बताइएको थियो ।

समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका बताइएको छ ।अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले खोप अफगानिस्तानको सरकारका स्वास्थ्य मन्त्री र प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् ।

समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताएका थिए । राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताएका छन् ।

चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए । चीनले अफगानिस्तानलाई कति मात्रामा खोप दिएको थियो भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।