प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनलाई अन्त्य गर्नेगरी आइतबार इजरायलको संसद्ले नयाँ सरकार गठनलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।
दलहरूको एउटा अनपेक्षित गठबन्धनले बनाउने अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ । त्यसले दुई वर्षभन्दा बढी समयमा तीनवटा निर्वाचनले फुकाउन नसकेको राजनीतिक गाँठोलाई समेत अन्त्य गर्नेछ । मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार दक्षिणपन्थी राष्ट्रवादी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री हुन अग्रसर देखिएका छन् ।
गठबन्धनसम्बन्धी सम्झौताअनुसार यामिना दलका नेताले सन् २०२३ को सेप्टेम्बरसम्म पद सम्हाल्नेछन् । त्यसपछिको थप दुई वर्षका लागि उनले येश अटिड पार्टीका याएर लापिडलाई सत्ता हस्तान्तरण गर्नेछन् ।
इजरायलमा सबैभन्दा लामो समय शासन गर्ने नेता नेतान्याहुले थुप्रै वर्ष त्यहाँको राजनीतिक परिदृश्यलाई आफ्नो अधिनमा राख्न सफल भए । उनी अझै दक्षिणपन्थी लिकुड पार्टीको नेता र प्रतिपक्षी दलको नेताका रूपमा रहिरहनेछन् ।
उनले सम्भावित नयाँ सरकारप्रति कडा शब्द प्रहार गर्दै त्यसलाई धोकेबाज र आत्मसमर्पणवादीहरूको खतरनाक गठबन्धन को सङ्ज्ञा दिएका छन् । उनले त्यसलाई छिट्टै सत्ताच्युत गरिने वाचा पनि गरेका छन् ।
बेनेटको सरकार इजरायलको ७३ वर्षे इतिहासमा नयाँ स्वरूपमा हुनेछ । उक्त गठबन्धनले नयाँ चुनाव गर्नु पर्ने अवस्था आउन नदिन त्यसो गरेको जनाएको छ । उक्त गठबन्धनमा राजनीतिक विचारधारामा ठूलो मतभिन्नता रहेका दलहरू छन् । अनि त्यसमा सबैभन्दा उल्लेख्य रूपमा पहिलो स्वतन्त्र अरब दल राम पनि सहभागी हुनेछ ।
त्यसमा अहिलेसम्मकै धेरै आठजना महिला मन्त्रीहरू समेत अपेक्षा गरिएको छ । राम र दक्षिणपन्थी गैरअरब इजरेली पार्टीहरू सरकारमा सहभागी हुँदा प्यालेस्टिनीहरूप्रतिको इजरायली नीतिमा मतभेद देखिन सक्छ । उदाहरणका लागि यामिन र अर्को दक्षिणपन्थी दल न्यू होप इजरेल अधीनस्थ वेस्ट ब्याङ्कजस्ता ठाउँमा यहुदी बस्ती राख्ने कामको कट्टर समर्थक हुन् ।

प्रतिक्रिया