जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार राति नेपाली काँग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले सपथ ग्रहण गराएका छन् ।
त्यसअघि सरकारमा सहभागी हुन नेपाली कांग्रेस र जसपाबीच दुई बुँदे सहमति भएको थियो । जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता राउत र कांग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले हस्ताक्षर गरेको सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ ।
सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ । यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमतिपत्रमा उल्लेख छ ।


प्रतिक्रिया