प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका लागि १५ घण्टाको समयसीमा


काठमाडौैं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका लागि संवैधानिक इजालसले समयसीमा तोकेको छ । संवैधानिक इजलासले बहसका लािग १५ घण्टाको समय तोकेको छ । इजलासमा रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा समय पाउने छन् भने सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुनेछ । यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाइ प्रक्रिया अपनाइने भएको हो ।

त्यस्तै मुद्दाको सुनुवाइका लागी सर्वोच्च अदालतले एमिकस क्युरी झिकाउने आदेश गरेको छ । संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरेको हो ।

२०७७ पुसमा भएको विघटनको मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी बोलाएर राय लिएको थियो । बुधवार शेरबहादुर देउवा सहितका सांसदहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । त्यस्तै इजलासले एमिक क्यूरी, प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश गरेको छ ।