काठमाडौं । नेपाली कांग्रेसले बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दाे आधार हुन् । ०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरु देशमा छन् । समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो । त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’


प्रतिक्रिया