अमेरिकी इन्धन पाइपलाइनको साइबर हमलामा बुझाइएको मध्ये अधिकांश फिरौती फिर्ता


अमेरिकाले एउटा इन्धन पाइपलाइन अघिल्लो महिना बन्द गराउने गरी हमला गर्ने साइबर समूहलाई तिरिएको ४४ लाख डलर फिरौती मध्ये अधिकांश फिर्ता गराएको बताएको छ ।

डार्क साइड नामक उक्त समूह पूर्वी युरोप र सम्भवत रुसबाट काम गर्ने अमेरिकी अधिकारीहरू बताउँछन् । उक्त समूहले अघिल्लो महिना पाइपलाइनको अनलाइन प्रणालीमा घुसपैठ गरेको थियो ।

र्यान्समवेअर आक्रमणले कैयौँ दिनसम्म आपूर्ति प्रभावित पारेको थियो र इन्धन अभाव निम्त्याएको थियो । उक्त फर्मको सो पाइपलाइनले पूर्वी तटको ४५ प्रतिशत डिजेल, पेट्रोल र जेट इन्धन ढुवानी गर्ने गर्थ्यो ।

सोमबार उपमहान्यायाधिवक्ता लिजा मोनाकोले अनुसन्धानकर्ताहरूले फिरौती बुझाइएको मध्ये अधिकांश अर्थात् २३ लाख डलर बराबरको ६३ दशमलव ७ बिटकोइन फेला पारि कब्जामा लिएको बताइन् ।

उनले गुप्तचर निकायहरूले ह्याकरहरूको डिजिटल वालेटमा पहुँच कायम गर्दै रकम कब्जामा लिएको बताइन्। अमेरिकी सरकारले विगतमा साइबर हमलाहरूका लागि कम्पनीहरूलाई फिरौती नतिर्न सुझाव दिएको थियो । उसले कम्पनीहरूलाई फिरौती माग्न सक्रिय हुने ह्याकरहरू विरुद्ध सुरक्षा प्रणाली वृद्धि गर्न भनेको थियो ।

वाणिज्य मन्त्री गिना राइमोन्डोले आगामी महिना रुसी नेता भ्लादिमीर पुटिनसँग गर्ने योजना गरिएको बैठकमा अमेरिकी राष्ट्रपति बाइडनले यस्ता आक्रमणका विषयमा कुरा उठाउने जानकारी दिइन्। साइबर हमलापछि गएको मे ७ मा कोलोनियल पाइपलाइन बन्द भएको थियो ।