फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भयोः घनश्याम भुसाल


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार सामाजिक संजालमार्फत भुसालले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’