सुर्खेत । नेपाली कांग्रेसको तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । पहिलोपटक सत्तामा सहभागी भएको कांग्रेस कर्णाली प्रदेश संसदीय दलले यज्ञ बहादुर बुढाक्षेत्री र दीनबन्धु श्रेष्ठलाई सरकारमा सहभागी गराएको हो ।
बुढालाई सामाजिक विकास मन्त्रालय र श्रेष्ठलाई उर्जा तथा जलस्रोत विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले कर्णाली प्रदेश संसदीय दलले फिर्ता लिएको थियो ।
त्यसयता अल्पमतमा परेका मुख्यमन्त्री शाहीले वैशाख ३ गते विश्वासको मत लिएका थिए । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री शाहीलाई समर्थन गरेको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन एमालेका चार जना सांसदले पनि फ्लोर क्रस गरेका थिए ।
सुरुमा सात सदस्यीय कर्णालीको मन्त्रिपरिषद् अब ८ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित माओवादीका ३ जना, एमालेबाट कारबाहीमा परेको ३ जना र कांग्रेसका दुईजना मन्त्री छन् । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुका लागि १३ बुँदे आचारसंहिता पनि बनाएको छ ।

प्रतिक्रिया