महतोको अभिव्यक्तिले देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छः रवीन्द्र मिश्र


काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट ‘बहूल राष्ट्रिय राज्यका लागि आन्दोलनको तयारी गर्ने’ अभिव्यक्ति आउनु अचम्मको कुरा नभएको बताएका छन् ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहूल राष्ट्रिय राज्यका लागि आन्दोलनको तयारी गरेको भन्दै दिएको अभिव्यक्तिप्रति मिश्रले यसप्रति बेलैमा सबै सजग हुनुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘बेलैमा सबै सजग हौँ ! संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट ’बहूल राष्ट्रिय राज्यका लागि आन्दोलनको तयारी गर्ने’ अभिव्यक्ति आउनु अचम्मको कुरा होइन ! कमसेकम सरकारको उप–नेतृत्व गर्दा त संविधानको पालना गरौँ! संविधानले नेपाललाई ‘बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक’ भनेको छ। ‘बहूल राष्ट्रिय राज्य’ भनेको छैन, जुन अत्यन्तै संवेदनशील र विवादित विषय हो । यही ताल हो भने देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ। ढिलो गरि आएको चेतना शिक्षा होइन, पश्चतापमा सीमित हुन्छ। बेलैमा सबै सजग हौँ।’

महतोको अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले महतोको अभिव्यक्ति नेपाली जनतालाई सह्य नहुने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री यसबारेमा मौन बसेकोमा आफू आश्चर्यमा परेको बताएका छन् । त्यस्तै एमाले नेता योगेश भट्टराईले पनि प्रधानमन्त्रीलाई यस्ता अभिव्यक्ति दिने उपप्रधानमन्त्रीलाई लगाम लगाउन आग्रह गरेका छन् ।