काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसदबाट हटाएका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका थापाले कारबाहीको निर्णय बदरको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उक्त रिटमाथि सुनुवाइका लागि सर्वोच्चले आइतबारलाई पेशी तोकेको छ । थापाले आफूलाई संसदीय दलको बैठक नै नबसी गरिएको निर्णय बदर गरी आफूलाई सांसदको रुपमा काम गर्न पाउनु पर्ने माग गरेका छन् ।
बिहीबार थापालाई जनमोर्चाले पार्टी विधान विपरीत काम गरेको र अनुशासन उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो । अधिवक्ता ईश्वरी भट्टराई समेतले उनको तर्फबाट रिट दायर गरेका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले जानकारी दिए । संसदीय दलको नेता र केन्द्रीय सदस्य समेत रहेका थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
थापा कारबाहीमा परेपछि सचेतक पियारी थापालाई दलको नेताको जिम्मेवारी दिएको थियो । उनले पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा समर्थन जनाएनन् भने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नसमेत नमानेपछि जनमोर्चाले कारबाही गरेको छ।

प्रतिक्रिया