मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार समानान्तर सत्ताको अभ्यास त होइन ?


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिले कोभिडविरुद्धको खोपका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गरेको भन्दै आपत्ति जनाएकी छन् । सामाजिक संजालमार्फत झाँक्रीले यो काम कार्यकारीको काम भएको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘हाम्रो देशको राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक हो । उसका सम्पूर्ण क्रियाकलापलाई संविधानले सीमित गरेको छ । त्यसकारण लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपन्च हो ? प्रतिगमन पटक पटक भोगेकै छौ नि होइन ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोग गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति जो बाइडेन, वेलायती महारानीलाई पत्राचार गरेकी थिइन् । त्यस्तै उनले चिनियाँ राष्ट्रपति सी लाई टेलिफोन गरी खोप सहयोग मागेकी थिइन् । फोन संवादपछि चीनले नेपाललाई दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । त्यो खोप मंगलबार नेपाल ल्याइएको छ । अन्य देशबाट भने पत्रको जवाफ केही आएको छैन ।