पार्टी नेतालाई कारबाही गर्नबाट पछि हट्यो ओली पक्ष, एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्ने निर्णय


काठमाडौँ । नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने उनले बताए । उनले भने, ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे समीक्षा भयो ।

एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ।’ त्यस्तै बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनकाबारेमासमेत छलफल भएको थियो । बैठकमा स्पष्टीकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए ।

उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षका दोस्रो तहका नेताहरुबीच सोमबार साँझ भएको वार्तामा एकताका लागि थप पहल गर्ने समझदारी बनेको बताइएको छ । जसका कारण १२ नेतामाथिको कारबाही रोकिएको बताइएको छ ।