‘आफ्नो कार्यकालमा केही नगर्ने, पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्धको मुद्दाको बहसमा सहभागी कानुन व्यवसायी र पूर्वप्रधानन्यायाधीशहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

सोमबार युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन व्यवसायी र पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश पोखेका हुन् । उनले न्यायाधीश छान्ने काम कानुन व्यवसायीको नभएको भन्दै कुतर्क नगर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले भने, ‘ कालो कोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’ प्रधानमन्त्रीले चार जना पूर्वन्यायाधीशको वक्तव्यप्रति पनि आक्रोश पोखेका छन् । उनले भने, ‘आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने, पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?’

उनले प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को आफ्नो सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको बचाउ गर्दै फागुन ११ गते सर्वोच्चको फैसलाको आलोचना गरे । सरकार निर्माण गर्छौं भन्नेहरूले फागुन ११ को फैसलापछि अर्को सरकार दिन नसकेको र राष्ट्रको समय खेर फालेको ओलीको भनाइ थियो ।