काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीमा अनुशासनहीन र अराजक काम गर्ने अध्यक्ष केपी ओली नै भएको बताएका छन् ।
आइतबार दिउँसो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षले अनुशासनहीन काम गरिरहेको आरोप लगाएपछि त्यसको प्रतिक्रियास्वरुप रावलले यस्तो बताएका हुन् ।
रावलले भनेका छन्, ‘प्रधानमन्त्री केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ । हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो ।’
प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।
— Dr. Bhim Rawal (@BhimRawal179) May 30, 2021
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका थिए । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए ।
उनले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे । उनले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको अरोप लगाएका थिए ।
प्रधानमन्त्रीले भने, ‘नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’

प्रतिक्रिया