प्रधानमन्त्री ओली नेपाललाई भुटानीकरण गर्ने योजनामा रहेका १४ दलको आरोप


काठमाडौं । विभिन्न १४ राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डो–अमेरिकी गठबन्धनको गोटी बनेर काम गरिरहेको आरोप लगाएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)लगायतका १४ राजनीतिक दलले संयुक्त मोर्चा बनाउँदै देशको समस्या वर्तमान ओली सरकार मात्र नभएर प्रणाली नै रहेको ठहर गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन्। सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं।’

उनीहरुले कोभिड महामारीबाट जोगिने एकमात्र उपाय खोप भएकाले तत्काल खोप खरीद गरी जनताको जीवन बचाउने काममा लाग्न सरकारलाई आग्रह गरेका छन् ।