काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने बारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित अन्तर्राष्ट्रिय संचारमाध्यमका प्रतिनिधिहरुसँगको संवादमा प्रधानमन्त्री ओलीले भारतले प्रयोग गर्दै आएको नेपाली भूमि फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हन् ।
उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसूचिमा पनि राखिसकेको उल्लेख गर्दै ती भूभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए । महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपूर्वको जमिन नेपालको भएको भन्दै उनले भने, ‘हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौं र त्यसलाई संविधानको अनुसूचिमा पनि सामेल गरेका छौं । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौं तर यथार्थ के हो भने विगत ५८ बर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन ।’
छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै ओलीले सबै समस्याको समाधान वार्तामार्फत गरिने बताए । उनले कतिपयले आफूलाई भारतसँगको सम्बन्ध विगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पत यी दुवै आरोपहरु सत्य नभएका जिकिर गरे ।
यसैबीच गतवर्ष प्रधानमन्त्री ओलीले सत्ता संकट परेका बेला भारततर्फ संकेत गर्दै आफूलाई विदेशी शक्तिले हटाउन लागेको बताएका थिए । तर अहिले पनि ओलीले सत्ता संकट परिरहेका बेला यो विषय उठान गरेका छन् ।
भारतले मिचेको भूमि संविधानमा राख्ने तथा नयाँ नक्सा छाप्ने बाहेक यो बीचमा सीमा समस्याकाबारेमा भारतसँग कुनै कुरा नगरेका ओलीले फेरि सत्ता संकटका बेला किन उठाए ? भन्ने कुरा चाहिं अचम्म नै छ । कतै भारतले फेरि आफूलाई नरुचाएको भन्ने आभाष पाएर ओली यो कुरा उठाएका त होइनन् भन्ने आशंका गरिएको छ । किनकी नेपालका लागि भारतीय पूर्व राजदूतहरु रञ्जित रे र राकेश सूदले ओलीका कारण नेपाल फेरि द्वन्द्वमा जान लागेको भन्दै भारतले ओलीलाई साथ दिन नहुने बताउँदै आएका छन् । दुई राजदूतको भनाई सार्वजनिक भएपछि ओलीको यस्तो अभिव्यक्ति आएको छ ।

प्रतिक्रिया