काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि कानुनी कारबाही हुने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरी गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने बताएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार हुनु निन्दनीय कार्य भएको भन्दै दोषीमाथि कडा कारबाही हुने बताएका हुन् ।
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।
यसैबीच, घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ ।


प्रतिक्रिया