सरकारलाई मतदाता लक्षित कार्यक्रम बजेटमा नराख्न पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आग्रह


काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बिहान विज्ञप्ति जारी गरी पूर्वप्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलख बहादुर गुरूङ्गले कामचलाउ सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ कात्तिक, मंसीरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनकालागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं । साथै, यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएकाछौं ।’