धनगढी । सूदूरपश्चिम प्रदेशको नेकपा एमालेको संसदीय दलको बैठकले सरकारमै रहने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो ।
नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा नआएको बताइन् ।
हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिरिने निर्णय भएको बताइन् । बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन् ।
प्रदेश सभामा एमालेका २५ जना सांसद छन् । सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन् ।

प्रतिक्रिया