काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको बताएका हुन् ।
उनले यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अबलम्वन गर्ने कुनै पनि पार्टीका लागि स्वीकार्य र क्षम्य नहुने चेतावनीसमेत दिएका छन् ।
यसअघि मंगलबार आफूलाई निर्वाचनमा सहयोग गर्न पुगेका गृहमन्त्री थापालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने सघाउन नसक्ने भन्दै फर्काइदिएका थिए । नेता नेपालले डा.खिमलाल देवकोटालाई आफूले नै उम्मेदवार बनाएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएका थिए । राष्ट्रियसभा उपनिर्वाचनमा बिहीबार मतदान हुँदैछ ।
२०७४ सालमा भएको निर्वाचनमा थापा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो। यहाँ डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको समर्थन र सहयोगमा उम्मेदवार छन्।



प्रतिक्रिया