अन्तरविरोध सृजना हुने काम कारबाहीबाट अलग हुन पार्टी पंक्तिलाई एमाले कार्यदलको आग्रह


काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले एक आपसमा अविश्वास असहयोग र अन्तरविरोध सृजना हुने काम कारबाहीबाट अलग हुन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

मंगलबार बसेको कार्यदलको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रुपमा अघि बढाउन सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको कार्यदलका संयोजक डा. भीम रावलले जानकारी दिए ।

बैठकमा कार्यदलका दुई सदस्य शंकर पोखरेल र विष्णु पौडेल भने काम विशेषले उपस्थित भएका थिएनन् । रावलका अनुसार कार्यदलको बैठक बुधबार पनि बस्नेछ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।