काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससल कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेकोे बताएका छन् ।
शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन् । अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए ।
डा. गेहब्रेयससले भने, ‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।’ उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् ।
कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन् घातक रहेको बताए । संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए ।
यही हप्ता विश्वका केही सरकारप्रमुख र खोप निर्माता कम्पनीले यस समस्यालाई सम्बोधन गर्ने काम सुरु गरेको उल्लेख गर्दै त्यसले आफू खुसी भएको पनि उनले बताए ।नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख महिना मात्रै नेपालमा डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया